काठमाडौं । भदौ २४ गते भएको जेन(जी) आन्दोलन हिंसात्मक बन्दै जाँदा निजी क्षेत्रमाथि व्यापक क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार चौधरी समूह, आईएमई समूह, भाटभटेनी सुपरस्टोरलगायत उद्योगी व्यवसायीका सम्पत्ति जलेर वा तोडफोड भएर मात्र करिब दुई खर्ब ४० अर्ब रुपैयाँ नोक्सानी भएको छ।
नेपालका अर्बपति विनोद चौधरीको निवास ‘रविभवन’, सीजी मोटर्सको सोरुम, सतुंगलको फ्याक्ट्री, उनका भाइहरूको निवास, आईएमई समूहका केबलकार र ग्लोबल आईएमई बैंकका शाखा आक्रमणमा परे।
१२ वटा भाटभटेनी सुपरस्टोर पूर्णरूपमा जले, अन्य ९ शाखामा तोडफोड र लुटपाट भयो। यसले हजारौँ रोजगारी संकटमा पार्दै उपभोक्तासम्म नोक्सानी पुर्याएको छ।
हिल्टन होटल, एनसेल, टाटा मोटर्स, हुन्डाई, सुजुकी र महिन्द्राका सोरुममा आक्रमण हुँदा विदेशी लगानीकर्ताको विश्वासमा प्रश्न उठेको छ। केवल एनसेलमै १ अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।
वित्तीय क्षेत्र र बीमा कम्पनी संकटमा
६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र लुटपाट भएको नेपाल बैंकर्स संघले जनाएको छ। बीमा कम्पनीहरूमा २०७२ को भूकम्पभन्दा १० गुणा बढी दाबी आउने प्रक्षेपण गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायत छाता संगठनहरूले विज्ञप्ति जारी गर्दै “निजी क्षेत्रलाई छानीछानी आक्रमण गर्नु अस्वीकार्य” भन्दै सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

