काठमाडौं । व्यावसायिक घराना यती ग्रुप अन्तर्गतको शेर्पा हस्पिटालिटी ग्रुप (एसएसजी) ले मनाङमा नयाँ होटल सञ्चालन घोषणा गरेको छ । एसएचजीले मुस्ताङमा सञ्चालन गरिरहेको नेपालकै सबैभन्दा लक्जरी रिसोर्ट ‘सिन्तामणि मुस्ताङ’ को पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक नामग्याल शेर्पाले मनाङको होटल चाँडै नै सञ्चालनमा आउने जानकारी दिए ।
प्रबन्ध निर्देशक शेर्पाका अनुसार एसएचजीको माउन्टेन लजेज अफ नेपाल (एमएलएन) अन्तर्गत मनाङमा होटल सञ्चालन गर्न लागिएको हो । एमएलएनले तीन दशकदेखि नेपालका अतिदुर्गम हिमाली भेगमा पदयात्री तथा पाहुनालाई आरामदायी लज, होटल तथा रिसोर्ट उपलब्ध गराउँदै आएको छ । यसका संस्थापकहरू ल्हाक्पासोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले स्थापना गरेका थिए ।
ग्रेट हिमालयन ट्रेल र हिमाली भेगका अन्य पदयात्रा मार्ग आउने बढी पैसा खर्च गर्ने (हाई इन्ड) पाहुना लक्षित गरी एसएचजीले लज, रिसोर्ट तथा होटल सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए । एसएचजीले चितवनस्थित प्रिमियम रिसोर्ट ‘कसरा चितवन’ पनि थप स्तरोन्नति गर्ने जनाएको छ ।

