काठमाडौँ । प्रतिनिधि सभा विघटनप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार संघीय संसद भवनको क्षतिग्रस्त संरचना अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग उनले जेनजी आन्दोलनका उद्देश्य र देशले भोगेको क्षति बारे बोलेका हुन्।
सभामुख घिमिरेले भने, “यो आन्दोलन के हो, गर्न खोजेको के हो, सबैकुराहरू राम्ररी अध्ययन गर्नुपर्छ। हामीले जे भोगिरहेका छौँ, त्यो दुःखद् कुरा हो। यसबाट उठेर ठिक ढंगले अगाडि जानु सबैको दायित्व हो।”
उनले थपे, “यी दुर्घटनाहरू नहुनुपथ्र्यो। मुलुकमा व्याप्त समस्यालाई राम्रो ढंगले समाधान गर्न बाटाहरू खोज्न सकिन्थ्यो होला, तर त्यो हुन सकेन। प्रतिनिधि सभा विघटन नगरी समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो।”
सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

