काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकले मुलुकमा उत्पन्न गम्भीर परिस्थितिलाई सम्बोधन गर्न वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको हो ।
शुक्रबार सार्वजनिक गरिएको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष प्रकाश ज्वालाले भने, “चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछौं।”
बैठकको १० बुँदे निर्णयमा पार्टीले नीति, विचार, सिद्धान्त र कार्यदिशामा सहमत हुने शक्तिसँग पार्टी एकताको पहल गर्ने र अन्य दलसँग वर्तमान सन्दर्भअनुसार सहकार्य गर्ने उल्लेख छ।
यसैगरी, २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारवालासमक्ष एकीकृत समाजवादीले आह्वान गरेको छ ।
निर्णयमा भनिएको छ, “विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्दै कमजोरीहरू सच्याउँदै व्यापक सुधारसहित राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित र मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्छौं।”
बैठकले पार्टी पङ्क्तिलाई निराश नहुन, उच्च मनोबलसहित आफ्नो क्षेत्रीय जिम्मेवारी पूरा गर्न, र नागरिक समाज एवं आम जनसमुदायसँग हातेमालो गर्दै अघि बढ्न निर्देशन दिएको छ । साथै, अन्य राजनीतिक दललाई समेत समीक्षा गरी गल्ती सच्याउँदै अघि बढ्न आग्रह गरिएको छ ।

