काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन्। सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो।
ऊर्जा मन्त्री कुलमान घिसिङले गत आइतबार प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका थिए। कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयबाट नियुक्ति पत्र बुझेसँगै पदभार सम्हालेका हुन्।
सिलवालले कार्यकारी निर्देशक पद सम्हाल्दै तत्कालीन ऊर्जा मन्त्री खड्काले आर्थिक प्रशासनिक विनियमावली अनुसार ठूला आयोजना प्रतिस्पर्धापछि मात्रै गर्ने गरी कमिटी गठन गर्ने स्वीकृति दिएको उल्लेख गरे। साथै, तत्कालीन ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको अध्यक्षको हैसियतमा कर्मचारी सेवा सर्त विनियमावली १२औँ संशोधन पुनरावलोकनका लागि सञ्चालक समितिमा पेश गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए।
सिलवालले भने, “उक्त निर्णयलाई पुनरावलोकन गरी कार्यकारी निर्देशकले नै १०औँ तह र सोभन्दा माथिका तहका कर्मचारीको सरुवा, बढुवा र काजमा खटाउने अधिकार कार्यकारी निर्देशकलाई दिने निर्णयमा हस्ताक्षर गरिएको छ।” उनले दसैं र तिहार नजिक रहेकाले त्यसलाई मध्यनजर राखेर काम अघि बढाउने बताए।
उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने पहिलो प्राथमिकता रहने र विद्युत् बक्यौताको विषयमा विगतमा भएका निर्णयहरू पुनरावलोकन गरी तत्काल बक्यौता उठाउने योजना रहेको जानकारी दिए।
सिलवालले प्राधिकरणमा आन्तरिक संरचना सुधार, आन्तरिक नीतिहरू निर्माण र आर्थिक रूपमा प्राधिकरणलाई सुदृढ बनाउने काममा जोड दिने बताए।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए। प्राधिकरणको १२औँ तह (एमडी) पुगेर २०८१ माघमा उनले अवकाश पाएका थिए। उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत इन्जिनियर हुन् र ऊर्जा मन्त्री घिसिङको कार्यकालमा प्राधिकरणका निकट सहयोगी तथा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।

