२०८३, आश्विन १९ गते

images

औषधिमा १०० प्रतिशत आयात कर लगाउने ट्रम्पको घोषणा

औषधिमा १०० प्रतिशत आयात कर लगाउने ट्रम्पको घोषणा

शुक्रवार, आश्विन १० २०८२०१:२१
शुक्रवार, आश्विन १० २०८२०१:२१
  • images

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने ब्रान्डेड औषधि र केही अन्य वस्तुमा नयाँ कर लगाउने घोषणा गरेका छन्। नयाँ कर नीति अक्टोबर १, २०२५ देखि लागू हुने भएको छ।

    ट्रम्पले अमेरिका बाहिर उत्पादन भएका ब्रान्डेड औषधिहरूमा १०० प्रतिशत कर लगाउने बताएका छन्। यसअन्तर्गत, किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० प्रतिशत, गद्देदार फर्निचरमा ३० प्रतिशत र मालवाहक ट्रकमा २५ प्रतिशत आयात कर लागू हुने जनाइएको छ। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत् यसबारे जानकारी दिएका हुन्।

    ट्रम्पले अमेरिकी ट्रक निर्माताहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने उद्देश्यले भारी ट्रकमा कर बढाएको स्पष्ट पारेका छन्। उनले पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर र म्याक ट्रकजस्ता कम्पनीहरूलाई सुरक्षित राख्न यस कदम आवश्यक भएको बताएका छन्।

    भारतीय औषधि कम्पनीहरूका लागि यस निर्णयले प्रभाव पार्ने अनुमान गरिएको छ। व्यापार अनुसन्धान एजेन्सी GTRI का अनुसार भारतले वार्षिक १२.७ अर्ब डलर बराबरको औषधि अमेरिकामा निर्यात गर्छ। यद्यपि, अधिकांश औषधि जेनेरिक प्रकारका हुन्छन्। ब्रान्डेड औषधि निर्यात भने सानो मात्रामा हुँदै आएको छ। डा. रेड्डीज, लुपिन र सन फार्मा जस्ता कम्पनीहरूले अमेरिकामा ब्रान्डेड औषधि निर्यात गर्छन्।

    विशेषज्ञका अनुसार नयाँ करले अमेरिकी बजारमा ब्रान्डेड औषधिको मूल्य बढ्नेछ र भारतीय कम्पनीहरूको मार्जिन घट्ने सम्भावना छ। उत्तर अमेरिका भारतीय औषधि कम्पनीहरूको आम्दानीको महत्वपूर्ण स्रोत भएकाले यो कदमले उनीहरूको नाफामा असर पुर्‍याउन सक्छ।

    यसैबीच, आयरल्याण्डमा पनि अमेरिकी बजारका लागि ब्रान्डेड औषधि उत्पादन गर्ने ठूला कारखानाहरू छन्। मर्क फार्माले डब्लिन नजिक क्यान्सर औषधि ‘किट्रुडा’ उत्पादन गर्छ भने AbbVie र एली लिलीका कारखानाहरूले अमेरिकी माग पूरा गर्न योगदान पुर्‍याउँछन्। ट्रम्पले यसअघि आयरल्याण्डका कम्पनीहरूलाई कम कर दर दिने अमेरिकी कम्पनीहरूलाई लाभ भएको आरोप लगाएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend