काठमाडौं । चालू आर्थिक वर्षमा बैंकहरूलाई बफर क्यापिटलको अतिरिक्त भार नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू वर्षको लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरेको हो।
मंगलबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै २०८१ साउनदेखि लागू हुने गरी आव २०८१/८२ का लागि यस्तो बफर शून्य प्रतिशत रहने जनाएको छ।
केन्द्रीय बैंकले पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार गत आर्थिक वर्षमा ०.५ प्रतिशत बफर क्यापिटल लगाएको थियो। कुल ग्राह्रास्थ उत्पादनअनुसार कर्जा प्रवाह रेसियो मिलान गर्न बैंकहरूलाई अतिरिक्त पुँजी थप गर्नुपर्ने पुँजीकोष फ्रेमवर्क २०१५ को व्यवस्था हो।
बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी गरी कुल ११ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। गत वर्षमा ०.५ प्रतिशत बफर क्यापिटल गरी बैंकहरूले ११.५ प्रतिशत कुल पुँजीकोष कायम गर्नु पर्यो। तर, गत वर्षमा अपेक्षित लक्ष्यअनुसार कर्जा विस्तार नहुँदा चालू वर्षमा बैंकहरूले अतिरिक्त पुँजी व्यवस्था गर्नु नपर्ने भएको हो।
यस्तै, चालू वर्षमा बैंकहरूलाई तोकिएको पुँजीकोष व्यवस्थापनमा सहयोग गर्ने गरी केन्द्रीय बैंकले असल कर्जामा नउठेको ब्याज आम्दानीलाई पनि नियामकीय कोष (रेगुलेटरी रिजर्भ) राख्ने व्यवस्था गरेको छ।
साथै, राष्ट्र बैंकले परिपत्रमार्फत लघुवित्त संस्थाले कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप हुने गरी पुनरतालिकीकरण र पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको छ।

