काठमाडौं । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझाले आफ्नो बर्खास्तीविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने अपेक्षा गरिए पनि सर्वोच्च अदालतले सबै नियमित पेशीहरू स्थगन गर्ने निर्णय गरेपछि उक्त मुद्दा पनि सुनुवाइबिना स्थगित भएको छ।
ओझाले आफूलाई बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा पुनः काम गर्न पाउनुपर्ने माग गर्दै गत महिनादेखि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, अदालतको निर्णयअनुसार आजको लागि तोकिएको पेशी समेत हटाइएको छ। अब मुद्दाको सुनुवाइ नयाँ तारेख लिएर मात्र अगाडि बढ्नेछ।
यसअघि यो मुद्दा असोज २६ गतेको लागि तोकिएको भए पनि त्यस दिन सुनुवाइ नहुँदा आजका लागि सारिएको थियो। तर, फेरि पनि सुनुवाइ हुन नसक्दा ओझाको पुनर्बहालीको प्रयासमा थप ढिलाइ भएको छ।
उक्त रिटमा ओझाले अर्थ मन्त्रालय, बीमा प्राधिकरणको नयाँ अध्यक्ष छनोट समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएका छन्। मन्त्रिपरिषद्को भदौ २ गतेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। ओझाले आफू कानुनविपरीत रुपमा बर्खास्त गरिएको भन्दै अदालतमार्फत न्याय खोजिरहेका छन्। अब यो मुद्दा कहिले सुनुवाइमा जान्छ भन्ने कुरा नयाँ तारेख पछि मात्र स्पष्ट हुनेछ।

