काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वित्तीय सबलता र स्थायित्वको प्रमाणस्वरूप रेटिङ एजेन्सी इक्रा नेपाल बाट ‘डबल ए माइनस’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको जनाउँछ।
सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको नेपाल लाइफ हाल देशभर १९० भन्दा बढी शाखा विस्तार गरी बीमा बजारमा सबैभन्दा ठूलो हिस्सेदारी कायम गर्न सफल भएको छ। कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहेको छ, जसले नाफा र प्रिमियम वृद्धिमा ठोस योगदान दिएको बताइन्छ।
कम्पनीको पहिलो वर्षको प्रिमियममा केही उतारचढाव देखिए पनि नवीकरण प्रिमियम आम्दानीमा निरन्तर वृद्धि हुँदै आएको छ। लगानीको गुणस्तर उत्कृष्ट रहेको नेपाल लाइफले स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा लगानी गरी करिब ९.३ प्रतिशतसम्म औसत ब्याजदर प्राप्त गरेको छ।
नेपाल लाइफको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ।
२०७८ साउनसम्म कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो। कम्पनीले आफ्ना बीमा जोखिमहरू नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडमार्फत पुनर्बीमा गरेको छ।

