काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेको छ।
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको हो । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्।
तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, बिजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिए।
एकताको विपक्षमा उभिएका लक्ष्मण लम्सालले बहुमत पक्ष एकताकै पक्षमा उभिएको बताए।
तत्कालीन नेकपामा मतभेद हुँदा माधव नेपालसहितका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका थिए। सर्वोच्च अदालतबाट नेकपा एकता भंग भएपछि ब्युँतिएको नेकपा एमालेमा पनि त्यो संघर्ष र विवाद कायमै रहेपछि २०७८ भदौ ९ गते नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।
नेपाली कांग्रेस, माओवादीसहित गठबन्धन गरेर जाँदा २०७९ को प्रतिनिधि सभा चुनावमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको थियो। तर, समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेपछि एकीकृत समाजवादी १० सिट हुँदा पनि राष्ट्रिय दल बन्न सकेको थिएन।

