काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८ दशमलव २४ अंकले घटेर २,६२२ बिन्दुमा कायम भएको हो।
आज ३३३ कम्पनीका १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ७२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ।
आजको कारोबारमा शिवम् सिमेन्ट सबैभन्दा अगाडि रहेको छ। यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख र राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।
लगानीकर्तामध्ये मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी फाइदा कमाएका छन्। उनीहरूले ९ दशमलव ९९ प्रतिशतका दरले लाभ कमाएका हुन्। त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशत र नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीहरूले ७ प्रतिशतका दरले नाफा कमाएका छन्।

