काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा उल्लेखनीय नाफा वृद्धि गरेको छ। कम्पनीको खुद नाफा ११ प्रतिशतले बढ्दै १२ करोड ८० लाख २० हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमा शुल्क पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। असोज मसान्तसम्म सूर्यज्योति लाइफले १८.७४ प्रतिशतले वृद्धि भई २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ थियो।
दाबी भुक्तानीतर्फ पनि वृद्धि देखिएको छ। समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो। गत वर्ष असोजसम्म कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
कुल आम्दानी र खर्च दुवैमा पनि वृद्धि भएको कम्पनीले जनाएको छ। समीक्षा अवधिसम्म कुल आम्दानी १२.२८ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १२.१७ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्समा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १.०१ रुपैयाँले बढेर १०.२२ रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.८६ गुणा रहेको कम्पनीले जनाएको छ।

