२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बाला चतुर्दशी मेला व्यवस्थित बनाइने, कर्मचारीलाई...

बाला चतुर्दशी मेला व्यवस्थित बनाइने, कर्मचारीलाई १८ घण्टा काममा खटाइने

बाला चतुर्दशी मेला व्यवस्थित बनाइने, कर्मचारीलाई १८ घण्टा काममा खटाइने

सोमवार, मंसिर १ २०८२०२:२४
सोमवार, मंसिर १ २०८२०२:२४
  • images

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ।

    यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।

    बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो।

    यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उनले बताए ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गरे। बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उनका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ।

    पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताए। पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन।

    बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ। नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend