काठमाडौँ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएको छ ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत ल्याएर गठबन्धनका उम्मेद्वारलाई हराएका हुन् । पाण्डेले ५८० मत ल्याउँदा कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटाले ४८० मत प्राप्त गरेका थिए ।
पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् । टान निर्वाचनमा पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो ।
अध्यक्षमा माओवादी निकट पाण्डे निर्वााचित हुँदा वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन् ।
उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका निर्वाचन समितिले जनाएको छ । टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।
महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् । त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् ।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।
गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय छन् । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताएका उनी साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ ।

