काठमाडौँ । सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए ।
उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।
यस्तै, आजको बैठकले सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ ।
दुई पक्षबीच बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो । आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए ।

