काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।
बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भइ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको हो। यसअघि सर्वोत्तम सिमेन्टको पनि यसै विधिमार्फत आईपीओ आएको थियो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गर्न गरेको हो।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

