२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बैंकदेखि जलविद्युत् सम्मका नेप्सेमा सूचीकृत कम्पनीको...

बैंकदेखि जलविद्युत् सम्मका नेप्सेमा सूचीकृत कम्पनीको लाभांश विवरण सार्वजनिक

बैंकदेखि जलविद्युत् सम्मका नेप्सेमा सूचीकृत कम्पनीको लाभांश विवरण सार्वजनिक

बुधवार, पौष १६ २०८२१०:४४
बुधवार, पौष १६ २०८२१०:४४
  • images

    काठमाडौं । नेपाली सेयर बजारमा सूचीकृत कम्पनीहरूका लागि यो समय निकै उत्साहजनक बनेको छ। आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने क्रममा नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीले लाभांश घोषणा गरिसकेका  छन्।

    लगानीकर्ताका लागि यो समय विशेष मानिन्छ, किनकि यसै अवधिमा कम्पनीहरूको वार्षिक प्रदर्शनको प्रतिफल बोनस सेयर र नगद लाभांशका रूपमा प्राप्त हुन्छ। यस वर्ष वाणिज्य बैंक, विकास बैंक, वित्त, लघुवित्त, बीमा, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र उत्पादनमूलक क्षेत्रका कम्पनीहरूले आ–आफ्नो वित्तीय क्षमताअनुसार लाभांश सार्वजनिक गरेका छन्।

    वाणिज्य बैंक

    नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले मात्र लाभांश घोषणा गरेका छन्। नेपाल बैंक, कुमारी, हिमालयन, एनआईसी एसिया, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने लाभांश नदिने भएका छन्।

    यसपटक एभरेष्ट बैंकले सबैभन्दा बढी २० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेका छन्। कृषि विकास बैंकले १३ प्रतिशत, नबिल बैंकले १२.५ प्रतिशत तथा सिद्धार्थ, लक्ष्मी सनराइज र एनएमबि बैंकले १० प्रतिशतभन्दा बढी लाभांश दिएका छन्।

    १३ बैंकले कुल ३३ अर्ब ६४ करोड रुपैयाँ लाभांश घोषणा गरेका छन्, जसमध्ये करिब ७४ प्रतिशत नगद र बाँकी बोनस सेयर रहेको छ। पछिल्लो समय बैंकहरूको पुँजीकोष सहज रहेकाले बोनसभन्दा नगद लाभांशतर्फ आकर्षण बढेको देखिन्छ।

    विकास बैंक र वित्त

    ८ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। मुक्तिनाथ विकास बैंकले १८.२ प्रतिशतसहित अग्रस्थानमा रहँदा कामना सेवा विकास बैंकले १५.८ र साइन रेसुङ्गा विकास बैंकले १३ प्रतिशत लाभांश दिएका छन्।

    वित्त समूहका ३ कम्पनीले लाभांश घोषणा गरेका छन्। मञ्जुश्री फाइनान्सले १७ प्रतिशत, आईसीएफसी फाइनान्सले १५.८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सले ६.४ प्रतिशत लाभांश दिएका छन्।

    बीमा क्षेत्र

    जीवन बीमातर्फ १० कम्पनीले लाभांश सार्वजनिक गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्स र एलआईसी नेपालले समान २१.१ प्रतिशत लाभांश दिएका छन्।

    निर्जीवन बीमातर्फ ७ कम्पनीले लाभांश घोषणा गरेका छन्। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत र शिखर इन्स्योरेन्सले ६.३२ प्रतिशत लाभांश दिएका छन्।

    जलविद्युत्

    जलविद्युत् क्षेत्रका २१ कम्पनीले लाभांश घोषणा गरेका छन्। साहस ऊर्जा लिमिटेडले २२.१ प्रतिशत र माउन्टेन इनर्जीले २१.१ प्रतिशत लाभांश घोषणा गरेका छन्।

    लघुवित्त

    २१ वटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। छिमेक लघुवित्तले २५ प्रतिशत र गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिएर अग्रणी बनेका छन्।

    होटल, लगानी र उत्पादन

    होटल तथा पर्यटन क्षेत्रका ४ कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी ३१.६ प्रतिशत लाभांश घोषणा गरेको छ। लगानी क्षेत्रका ६ कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ४२.१ प्रतिशत लाभांश दिएको छ। उत्पादन तथा प्रशोधन क्षेत्रमा युनिलिभर नेपालले सर्वाधिक १८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

    अन्य क्षेत्र

    अन्य क्षेत्रमा नेपाल टेलिकमले ३० प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीले ८.४२ प्रतिशत लाभांश घोषणा गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend