२०८३, आश्विन १९ गते

images

चुनावी माहोलले बढायो सेयरबजार, करिब पाँच महिनायताकै उच्च विन्दुमा नेप्से

चुनावी माहोलले बढायो सेयरबजार, करिब पाँच महिनायताकै उच्च विन्दुमा नेप्से

मंगलवार, माघ ६ २०८२०३:१९
मंगलवार, माघ ६ २०८२०३:१९
  • images

    काठमाडौं । देशमा चुनावी सरगर्मी बढ्दै जाँदा सेयरबजारले त्यसलाई सकारात्मक रूपमा लिएको देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ, जुन करिब पाँच महिनायताकै उच्च स्तर हो।

    गत भदौ २३ गते २७ सय विन्दुमा पुगेपछि नेप्से त्यसयता माथि जान सकेको थिएन। तर आइतबार २७ सय विन्दु पार गरेको बजारले मंगलबार पनि निरन्तरता दिँदै पाँच महिनापछिकै उच्च बिन्दु छोएको हो।

    मंगलबार देशभर फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता भइरहँदा सेयरबजारले त्यसलाई स्वागत गरेको देखिएको छ। चुनाव हुने वातावरण बन्दै जाँदा बजारमा लगानीकर्ताको उत्साह बढेको र त्यसको प्रभाव नेप्सेमा देखिएको विश्लेषकहरू बताउँछन्। आइतबार पनि नेप्से ३१.१२ अंकले बढ्दा ८ अर्ब रुपैयाँको कारोबार भएको थियो।

    मंगलबार सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। यस दिन कुल ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। २ करोड ५१ लाख कित्ता सेयर कारोबार हुँदा बजारमा तरलता र सक्रियता बढेको संकेत देखिएको छ।

    यसअघि गत साउन १३ गते नेप्सेले ३ हजार विन्दुको अवरोधमा धक्का दिएको थियो। सो दिन १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो। तर ३ हजार विन्दु पार गर्न नसकेपछि बजार निरन्तर ओरालो लागेको थियो। साउन १८ गते २९२४.१५ विन्दुमा पुग्दा १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भए पनि त्यसपछि सूचक र कारोबार दुवै घट्दै आएका थिए।

    मंगलबार २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन गोर्खाज फाइनान्स १० प्रतिशतले अग्रस्थानमा रहँदा आँखुखोला जलविद्युत् ८.१३ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ७.८७ प्रतिशत, नेशनल हाइड्रोपावर ७.३२ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर ७.०४ प्रतिशतले बढेका छन्।

    गिरावटतर्फ भने अधिकतम ४.२३ प्रतिशतसम्म मात्रै सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

    कारोबार रकमतर्फ एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यसपछि राधी विद्युत् ३९ करोड, मञ्जुश्री फाइनान्स ३७ करोड, ग्रिन भेन्चर्स ३० करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ।

    मंगलबार सबै उपसूचकहरू हरियो देखिएका छन्, जसले बजारमा समग्र सकारात्मक धारणा बलियो बन्दै गएको संकेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend