काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ६.९१ प्रतिशत नाफा वृद्धि गर्दै ६६ करोड ५३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कोषले ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १७ करोड ३६ लाख ४० हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ८३ करोड ९४ लाख ८८ हजार रुपैयाँ रहेको छ। साथै, विविध आम्दानी ५ करोड ६२ लाख २० हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ब्याज आम्दानी १९ करोड ३३ लाख ७१ हजार रुपैयाँ, सेवा शुल्क आम्दानी ८१ करोड १ लाख ९६ हजार रुपैयाँ र विविध आम्दानी ३ करोड ५९ लाख ६८ हजार रुपैयाँ थियो।
चालु आवको दोस्रो त्रैमासमा कोषले कुल १ अर्ब ६ करोड ९३ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ भने १८ करोड १८ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ। गत वर्षको सोही अवधिमा कोषको कुल आम्दानी १ अर्ब ३ करोड ९५ लाख ३५ हजार रुपैयाँ र कुल खर्च २० करोड ८६ लाख ५२ हजार रुपैयाँ रहेको थियो। कुल खर्चमध्ये १४ करोड २५ लाख ३४ हजार रुपैयाँ व्यवस्थापन खर्च र ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ खर्च व्यवस्थापनमा व्यय भएको कोषले जनाएको छ।
पुस मसान्तसम्म कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ पुगेको छ भने खुद कोष मौज्दात २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ। गत वर्षको पुस मसान्तमा चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ र खुद कोष मौज्दात २ खर्ब ६४ अर्ब ३५ करोड ९७ लाख ९८ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कोषको कुल लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख ६३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कोषको लगानी २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख ३८ हजार रुपैयाँ रहेको थियो।
कोषका अनुसार विभिन्न क्षेत्रमा गरिएको लगानीमध्ये नेपाल सरकारको ऋणपत्रमा १३ अर्ब १२ करोड ७६ लाख ४५ हजार रुपैयाँ, बैंकको मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब ४० करोड ५५ लाख ९ हजार रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड ६७ लाख ५५ हजार रुपैयाँ, सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४६ लाख ७५ हजार रुपैयाँ, सहभागी सापटी तथा आवास कर्जामा ६५ अर्ब २३ करोड ९१ लाख ७१ हजार रुपैयाँ, ट्रेजरी बिलमा १४ अर्ब १७ करोड ९३ लाख ९६ हजार रुपैयाँ र संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड ५३ लाख १३ हजार रुपैयाँ लगानी गरिएको छ।
कोषको रिटर्न अन इन्भेष्टमेन्ट ४.४९ प्रतिशत र फण्ड इन्भेष्टमेन्ट रेसियो ९९।८१ प्रतिशत रहेको छ। यस अवधिमा कोषको प्रतिसेयर आम्दानी १९।५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४२।४० रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

