काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक ८.१६ अंक घटेर २६६२।.विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
सोमबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।
नेप्से परिसूचक घटेतापनि आज ३ कम्पनीमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन्।

