काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा ४ करोड ७० लाख रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
निष्कासन गरिने शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दालाई बाँडफाँट गरिनेछ। यस्तै, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं। ३ का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का बासिन्दालाई वितरण गरिनेछ।
यसैगरी सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म आवेदन खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १४ गतेसम्म छिटो बन्द हुने र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

