२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सोमबारदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको...

सोमबारदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिंदै, यी हुन १८ दाबेदार

सोमबारदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिंदै, यी हुन १८ दाबेदार

आइतवार, फाल्गुण २४ २०८२०३:४६
आइतवार, फाल्गुण २४ २०८२०३:४६
  • images

    काठमाडौँ । सोमबारदेखि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिदैँछ । डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले भोली अर्थात सोमबारदेखि अनिवार्य अवकाश लिदैँछन् । 

    उनीहरूको अवकाशपछि रिक्त हुने डेपुटी गभर्नरका लागि छनोट प्रक्रिया भने थालिएको छैन । निर्वाचन आचारसंहिताका कारण सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन नपाएको हो । 

    यस्तो छ व्यवस्था

    अर्थमन्त्री रामेश्वरप्रासद खनालले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन आयोगसँग परामर्श पनि गरेका थिए । तर, विवादमा पर्ने जोखिम देखेपछि उनी डेपुटी गभर्नर नियुक्तिमा पछि हटेका थिए । र, अब नयाँ सरकारलाई डेपुटी गभर्नरको नियुक्तिको जिम्मेवारी दिने उनको योजना छ ।

    राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकमध्येबाट तीन योग्य व्यक्तिलाई डेपुटी गर्भनरका लागि गभर्नरले सिफारिस गर्ने व्यवस्था छ । गभर्नरको सिफारिस सूची अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई डेपुटी गभर्नर नियुक्ति गर्ने प्रावधान छ । डेपुटीहरू पछि गभर्नर नियुक्तिको समेत बलियो प्रत्याशी हुने गरेका छन् । त्यसैले, डेपुटी गभर्नर नियुक्तिलाई मन्त्रिपरिषद्ले समेत ‘चासोपूर्वक’ निर्णय गर्ने गरेको छ ।

    डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा केन्द्रीय बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने ऐनमा व्यवस्था छ । तर, मन्त्रिपरिषद्मा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गर्ने अभ्यास छ । 

    डेपुटी गभर्नरका लागि नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक बैंकिङ वित्तीय वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ । 

    यी हुन डेपुटी गभर्नरका १८ जना दाबेदार

    राष्ट्र बैंकभित्रका विभिन्न महत्वपूर्ण विभाग सम्हालिरहेका कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरको दौडाहामा छन् । प्रतिस्पर्धामा रहेका कार्यकारी निर्देशकहरूमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागका रामु पौडेल, आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेल र बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल तुलनात्मक रूपमा बलिया प्रतिस्पर्धी हुन् । किनभने, उनीहरू राष्ट्र बैंकभित्रको शक्तिशाली विभागमा नेतृत्व गरिरहेका छन् ।

    यो दौडमा लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल र वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा छन् । 

    त्यसैगरी, गभर्नरको कार्यालयमा कार्यरत कार्यकारी निर्देशक दयाराम शर्मा, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा. सत्येन्द्र तिमिल्सिना र गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका चेतप्रसाद उप्रेती पनि दौडमा छन् ।

    बैंकिङ विभागका रोशनकुमार सिग्देल, मौद्रिक व्यवस्थापन विभागका डा. डिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी र मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल, आन्तरिक लेखा परीक्षण विभागका दीपकराज लमिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजनविक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नर पदका दाबेदार हुन् । 

    डेपुटी गभर्नरलाई राष्ट्र बैंकको नीति–निर्माण, मौद्रिक व्यवस्थापन, बैंकिङ प्रणालीको निगरानी तथा समष्टिगत आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने दायित्व हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend