काठमाडौं । नयाँ सरकार गठन भएयता नेपालको सेयरबजारमा लगातार गिरावट देखिएको छ। लगानीकर्तामा अपेक्षित उत्साह नआउँदा बजारले निरन्तर ओरालो यात्रा तय गरेको हो।
चैत १३ गते बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयर बजारमा सकारात्मक संकेत देखिने अपेक्षा गरिएको थियो। तर त्यसको विपरीत बजारमा निरन्तर दबाब बढ्दै गएको छ। सरकार गठनपछिको पहिलो कारोबार दिन (चैत १५) नै बजार घटेको थियो। त्यसयता बीचमा चैत १७ र १९ गते सामान्य वृद्धि भए पनि बजारले दिगो सुधारको संकेत दिन सकेन।
आइतबार ९चैत २२० भने बजारमा ठूलो गिरावट आएको छ। उक्त दिन नेप्से परिसूचक १०५.५० अंकले घट्दै ३.७९ प्रतिशतले ओरालो लागेर २६७६.६८ विन्दुमा झरेको छ। यो नयाँ सरकार गठनयताकै सबैभन्दा ठूलो गिरावट हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार उक्त दिन कुल १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। ३ करोड १२ लाख कित्ता सेयर किनबेच भएको तथ्यांक सार्वजनिक गरिएको छ।
बजारमा समग्र दबाब देखिँदा २६१ कम्पनीका सेयर मूल्य घटेका छन् भने मात्र ७ कम्पनीका सेयर मूल्य बढेका छन्। बढेका कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनाका सेयरमा सकारात्मक सर्किट लागेको छ। साथै सुपर खुदी हाइड्रोको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ।
तर अर्कोतर्फ नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्टका सेयरमा नकारात्मक सर्किट लागेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर पनि करिब १० प्रतिशतले घटेको छ।
कारोबारका हिसाबले हिमालयन रिइन्स्योरेन्सको ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट ४५ करोड, ङादी ग्रुप पावर ४२ करोड, नेशनल हाइड्रो ३६ करोड तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत रूपमा हेर्दा पनि बजार पूर्ण रूपमा राताम्य देखिएको छ। अन्य समूह ६ प्रतिशतले घट्दा विकास बैंक र जलविद्युत् समूह ४ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै वाणिज्य बैंक, फाइनान्स, होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा तथा व्यापार समूह ३ प्रतिशतभन्दा बढीले घटेका छन्।

