२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • मन्त्रीहरूको सम्पत्ति: डिजिटल कमाइबाट करोडपति प्रधानमन्त्री,...

मन्त्रीहरूको सम्पत्ति: डिजिटल कमाइबाट करोडपति प्रधानमन्त्री, अर्थमन्त्री सबैभन्दा धनी

मन्त्रीहरूको सम्पत्ति: डिजिटल कमाइबाट करोडपति प्रधानमन्त्री, अर्थमन्त्री सबैभन्दा धनी

आइतवार, चैत्र २९ २०८२०८:४२
आइतवार, चैत्र २९ २०८२०८:४२
  • images

    काठमाडौँ । सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणले वर्तमान मन्त्रिपरिषद्भित्र आर्थिक असमानताको स्पष्ट चित्र प्रस्तुत गरेको छ,जहाँ केही मन्त्रीहरू करोडौँका धनी देखिएका छन् भने केही तुलनात्मक रूपमा सामान्य अवस्थामा रहेका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण विशेष चासोको विषय बनेको छ। उनले आफ्नो आम्दानीको मुख्य स्रोत कला तथा डिजिटल प्लेटफर्मलाई देखाएका छन्। फेसबुक र युट्युबमार्फत आर्जित रकमबाट उनका विभिन्न बैंक खातामा १ कराेड ४६ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको उल्लेख गरिएको छ। उनकी पत्नी सविना काफ्लेसँग १९० तोला पैतृक सुन रहेको छ भने काठमाडौंमा ५ आनामा बनेको घर, धनुषामा १.२ बिघा र महोत्तरीमा ९ बिघा जग्गा रहेको छ। शाहले आफ्नो सम्पत्तिमा सामाजिक सञ्जालका फलोअर्सलाई समेत समावेश गरेका छन् । जसअन्तरगत फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र ट्विटरमा ५ लाख फलोअर्स रहेका छन्।

    सम्पत्ति विवरणका आधारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सबैभन्दा धनी देखिएका छन् । वाग्लेसँग ललितपुरमा दुई घर र अपार्टमेन्टसहित तनहुँ र बन्दीपुरमा अचल सम्पत्ति गरी करिब १२ करोड रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति छ। उनका बैंक खातामा १ करोड रुपैयाँ नगद र विभिन्न कम्पनीमा करोडौँको शेयर लगानी रहेको छ, यद्यपि उनले करिब ४ करोड रुपैयाँ ऋण पनि देखाएका छन्।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग बैंक ब्यालेन्स ७ लाख २३हजारभन्दा बढी रहेको छ भने काठमाडौंमा ६ रोपनी र मोरङमा ८ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ।

    शिक्षा मन्त्री सस्मित पोखरेलसँग काठमाडौंमा ४ करोड र ५ करोड मूल्यका दुई घर छन् भने बैंकमा ३ करोड रुपैयाँ मौज्दात रहेको छ। उनले बुबा र आमाकाे नाममा २४ कराेड बढीकाे सम्पत्ती देखाएका छन्।

    यता, मन्त्रिपरिषद्मा सबैभन्दा कम सम्पत्ति हुनेमा महिला मन्त्री सीता बादी देखिएकी छन्। उनको बैंक खातामा करिब १५ लाख रुपैयाँ मात्र रहेको छ। काठमाडौंमा पैतृक घर तथा सुर्खेत र नुवाकोटमा सानो जग्गा रहेको छ भने उनीसँग १८ तोला सुन रहेको विवरणमा उल्लेख छ। श्रम मन्त्री रामजी यादवसँग सप्तरीमा केही जग्गा र बैंकमा ७० लाख रुपैयाँ मौज्दात छ, साथै एउटा मोटरसाइकल र ल्यापटप मात्र अतिरिक्त सम्पत्तिको रूपमा रहेका छन्।

    अन्य मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार परराष्ट्र मन्त्री शिशिर खनालसँग तनहुँ र नवलपुरमा २७ रोपनी जग्गा, २२ तोला सुन र ४० लाख रुपैयाँ बराबरको गाडी रहेको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौंको इन्द्रचोक र ताहाचलमा पैतृक घर, १५ तोला सुन र ६५ लाखको ल्यान्ड क्रुजर गाडी छ। कानूनमन्त्री सोविता गौतमसँग बैंकमा १ करोड ५० लाख नगद, १५ तोला सुन र १ तोला हीरा रहेको छ।

    त्यसैगरी, गृहमन्त्री सुधन गुरुङसँग गोर्खामा २२१ रोपनी जग्गा र ३ करोड बराबरको शेयर लगानी रहेको छ भने उद्योग मन्त्री गौरी कुमारी यादवसँग काठमाडौंमा घर, १८ तोला सुन र २ केजी चाँदी रहेको छ। उनले करिब २ करोड ८० लाख रुपैयाँ ऋण पनि देखाएकी छन्।

    सरकारले सार्वजनिक गरेको यो विवरणले मन्त्रीहरूको आर्थिक हैसियत मात्र होइन, आयस्रोतको विविधता र सामाजिक–आर्थिक अन्तर पनि उजागर गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend