काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी तथा अभिकर्ताहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईआ) कपिलकुमार दाहाल निलम्बनमा परेको लामो समय भैसक्दा समेत कम्पनी सञ्चालक समितिले निमित्त तोक्न नकसको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले कम्पनीका अध्यक्ष नारायण बजाजलाई पटक पट्क भेट्दै तत्काल निमित्तको जिम्मेवारी नदिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्पनीका सीईओ दाहालसँगै झन्डै १ सय जना विरुद्ध गत जेठ २९ गते विशेष अदालतमा मुद्दा दर्ता भएसँगै दाहाल स्वत निलम्बीत भएका हुन् । उनीसँगै अन्य कम्पनीका सीईओ समेत निलम्बीत भए । तर, अधिकांश कम्पनीले सीईओ निलम्बीत भएसँगै निमित्तको जिम्मेवारी अन्य कर्मचारीहरुलाई सुम्पिसकेको छ । तर मुद्दा दर्ता भएर सीईओ निलम्बीत भएको लामो समयभैसक्दा समेत हिमालयन लाइफ इन्स्योरेन्सको बोर्डले निमित्त कर्मचारी तोक्न सकेको छैन् ।
धेरै कम्पनिका सीईओ तथा कर्मचारीहरु निलम्बीन भएसँगै नियामक निकायको रुपमा रहेको बीमा प्राधिकरणले असार २ गते बीमा कम्पनीहरुलाई पत्र पठाउँदै फैजदारी मुद्धा दर्ता भएसँगै त्यहाँ मुछिएका सीईओ तथा कर्मचारी निलम्बन हुने भन्दै परिपत्र गरेको थियो । प्राधिकरणले सीईओ स्वत निलम्बन भएको भन्दै पत्र पठाएर निमित्तको जिम्मेवारी तोक्ने अनुमति दिदा समेत हिमालयन लाइफका सञ्चालकले भने आनाकानी गर्दै आएका छन् ।
साढे ४ अर्ब बढी हिनामिना प्रकरणपछि सीईओ निलम्बित, नेतृत्व बिहीन हिमालयन लाइफ
सञ्चालक समितिले समयमै निमित्तको जिम्मेवारी नतोकेको भन्दै कम्पनीका कर्मचारीहरूको आधिकारिक संगठन हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ तथा पेशागत बीमा अभिकर्ता संघ नेपालले तत्काल निमित्तको जिम्मेवारी तोक्न आग्रह गरेका छन् । उनीहरुले सञ्चालक समितिलाई पत्र पठाउँदै तत्काल जिम्मेवारी तोकिदिए आग्रह समेत गरेको पाइएको छ ।
कर्मचारी संघले सञ्चालक समितिलाई पत्र लेख्दै कम्पनीलाई नेतृत्वविहीन अवस्थामा राख्दा दैनिक कार्यसम्पादन, निर्णय प्रक्रिया र व्यवसायिक गतिविधिमा प्रत्यक्ष असर परेको जनाएको छ । संघले असार महिनाजस्तो बीमा व्यवसायका लागि अत्यन्त संवेदनशील समयमा नेतृत्व रिक्त हुँदा कम्पनीको प्रतिष्ठा, व्यवसाय विस्तार र ग्राहक सेवामा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ ।
कर्मचारी संघले कम्पनीको नियमित कामकाज, निर्णय प्रक्रिया र बजारमा संस्थाप्रतिको विश्वास जोगाउन तत्काल निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न आग्रह गरेको छ । संघका अनुसार नेतृत्व अभावका कारण कर्मचारीहरू अन्योलमा परेका छन् भने संस्थागत निर्णयहरू प्रभावित हुन थालेका छन् ।
अभिकर्ता संघले दियो तालाबन्दीको धम्की
कम्पनी लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिहीन भएको र सञचालकले निमित्त समेत नियुक्त गर्न नसकेको भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघले कम्पनी सञ्चालक समितिलाई सम्बोधन गर्दै दिएको ज्ञापनपत्रमा सीईओ बिहीन अवस्थामा निमित्त नियुक्ति हुन नसक्दा कम्पनीको दैनिक प्रशासन, व्यवसाय विस्तार तथा संस्थागत विश्वसनीयतामा नकारात्मक असर परेको जनाएको छ । संघका अनुसार नेतृत्वविहीन अवस्थाले बीमित, अभिकर्ता, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको हित प्रभावित भएको छ ।
संघले कम्पनीको सुशासन, स्थायित्व र दीर्घकालीन हितलाई ध्यानमा राख्दै तत्काल निमित्तको जिम्मेवारी टुंग्याउन माग गरेको छ । माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ ।
घोषित कार्यक्रमअनुसार असार ८ गते निवेदनमार्फत माग सम्बोधन गर्न आग्रह गरिएको छ भने असार ९ गते प्रधान कार्यालयमा सम्पूर्ण कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाइने जनाएको छ । त्यसैगरी असार १० गतेदेखि उपशाखा कार्यालयहरूमा तालाबन्दी, असार ११ गते सम्पूर्ण शाखा कार्यालयहरूमा तालाबन्दी तथा असार १२ गते देशभरका अभिकर्ताहरूको सहभागितामा प्रधान कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
संघले असार १३ गतेसम्म पनि माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । साथै सञ्चालक समितिलाई यथाशीघ्र निर्णय गरी कम्पनीलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गर्न आग्रह गरेको छ ।
उनीहरुले अध्यक्ष बजाजसँग निरन्तर वार्ता तथा छलफल समेत गर्दै आएका छन् । तर, अध्यक्ष बजाजले निमित्त नियुक्तीका लागि आफू प्रयासरत रहेको भन्दै छिट्टै नियुक्ती गर्ने आश्वासन दिदैँ आएका छन् ।
‘अध्यक्षज्यूले छिट्टै नियुक्त हुन्छ भन्नुभएको छ । तर अहिलेसम्म भएको छैन् । बुधबार अथार्त आज साँझसम्म कुनै निर्णय नभए हामी भोलीदेखि आन्दोलनमा जान्छौँ’, संघका एक पदाधिकारीले भने ।
उनका अनुसार अध्यक्षले निमित्तको जिम्मेवारी दिन बोर्डबाट नै अस्वीकार भएको भन्दै आफूले सक्दो प्रयास गरेको बताएका छन् ।

