काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने प्रतिष्ठित नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रको गोल्ड अवार्ड बाट सम्मानित भएको छ।
बैंकले लगातार तेस्रो वर्ष उत्कृष्ट प्रदर्शन गर्दै यो सम्मान प्राप्त गरेको जनाएको छ। यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर अवार्ड तथा बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो भने यस वर्ष पनि पुनः गोल्ड अवार्ड जित्न सफल भएको हो।
बैंकका अनुसार यसको वार्षिक प्रतिवेदनमा वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणका आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
कामना सेवा विकास बैंकले दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा अवार्ड’बाट समेत निरन्तर सम्मानित हुँदै आएको उल्लेख गर्दै वित्तीय पारदर्शिता, सुशासन तथा गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा आफ्नो प्रतिबद्धता कायम राखेको जनाएको छ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए।
बैंकले यो सम्मानले संस्थागत सुशासन, उत्तरदायी वित्तीय अभ्यास तथा पारदर्शिताप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। साथै आगामी दिनमा पनि सरोकारवालालाई समयानुकूल, विश्वसनीय र गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

