काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–बीपीए) अवार्ड २०२५ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ।
आइक्यानले कम्पनीहरूले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व तथा सुशासन सम्बन्धी मापदण्डका आधारमा हरेक वर्ष प्रदान गर्ने उक्त अवार्डमा गरिमा विकास बैंक आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा सम्मानित भएको हो।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई सिल्भर अवार्ड हस्तान्तरण गरेका थिए।
गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय अवार्डहरू प्राप्त गर्दै आएको छ। बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ को उपाधि प्राप्त गरेको थियो। त्यस्तै, कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैंक समूहअन्तर्गत ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट समेत सम्मानित भएको थियो।
हाल गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

