काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, प्रविधिमैत्री र ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।
बैंकले शुक्रबार आयोजित विशेष कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार नयाँ डिजिटल हबले ग्राहकलाई आरामदायी वातावरणमा बसेर विभिन्न बैंकिङ सेवा लिन सक्ने सुविधा प्रदान गर्नेछ। यस केन्द्रबाट नगद जम्मा, नगद झिक्ने, चेक क्लियरिङ, डिजिटल कारोबार तथा अन्य विद्युतीय बैंकिङ सेवाहरू सहज रूपमा उपलब्ध हुनेछन्। साथै, ग्राहकले कफी लाउन्जको सुविधा उपभोग गर्दै बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ।
महालक्ष्मी विकास बैंकले यस्तो अवधारणाको सेवा नेपालकै बैंकिङ क्षेत्रमा सम्भवतः पहिलोपटक सञ्चालनमा ल्याएको दाबी गरेको छ। बैंकका अनुसार डिजिटल बैंकिङलाई सहज र प्रभावकारी बनाउँदै ग्राहकको अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्यसहित यो अवधारणा कार्यान्वयन गरिएको हो।
युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्नुका साथै ग्राहकमा डिजिटल वित्तीय सेवाप्रतिको पहुँच र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल हबमा डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुनेछ। बैंकले यसलाई ग्राहकका लागि सिकाइ, अनुभव र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरेको छ।
नेपाल राष्ट्र बैंकले अघि सारेको रेगुलेटरी स्यान्डबक्स (Regulatory Sandbox) अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय क्षेत्रमा नवीन प्रविधि र सेवाको विकास तथा विस्तारमा बैंक प्रतिबद्ध रहेको जनाएको छ।

