काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले एक कार्यक्रमबीच वीरेन्द्रनगर–१ का वडाध्यक्ष दिनेश खत्रीमार्फत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यालयमा डिप बोरिङमार्फत खानेपानी आपूर्तिको व्यवस्था भए पनि पानी शुद्धीकरण गर्ने उपकरण नहुँदा विद्यार्थी तथा शिक्षकले सुरक्षित पिउने पानीको सुविधा पाउन कठिनाइ भोग्दै आएका थिए। यही आवश्यकतालाई सम्बोधन गर्दै बैंकले पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ।
कार्यक्रममा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायी कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बैंकबाट प्राप्त सहयोगले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसले विद्यालयमा स्वस्थ र सुरक्षित शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्वलाई बैंकले प्राथमिकतामा राखेको उल्लेख गर्दै समुदायको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा बैंकका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको सहकार्यमा सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

