काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बुधबार मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न मुद्दामा विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, लगानीको वातावरण सुधार गर्ने तथा पूँजी बजारसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो।
सरकार र नेपाल राष्ट्र बैंकबीच आर्थिक नीति तथा वित्तीय प्रणालीलाई प्रभावकारी बनाउने विषयमा निरन्तर समन्वय भइरहेको सन्दर्भमा प्रधानमन्त्री र गभर्नरबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

