२०८३, श्रावण २५ गते

images

बिजुली बेचेर एक वर्षमै २९ अर्ब आम्दानी, १८ अर्ब ७६ करोड खुद बचत

बिजुली बेचेर एक वर्षमै २९ अर्ब आम्दानी, १८ अर्ब ७६ करोड खुद बचत

images
बिहिवार, श्रावण ७ २०८३०७:१५
बिहिवार, श्रावण ७ २०८३०७:१५
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ र समीक्षा वर्ष २०८२/८३ को क्रस–बोर्डर विद्युत् व्यापारसम्बन्धी तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको देखाएको छ। जलविद्युत् उत्पादनमा भएको उल्लेख्य वृद्धि, भारत तथा बङ्गलादेशसँग विस्तार भएको सीमापार विद्युत् व्यापार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपालले पहिलो पटक विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खुद बचत गर्न सफल भएको हो।

    प्राधिकरणका अनुसार समीक्षा वर्ष २०८२/८३ मा नेपालले भारत तथा बङ्गलादेशतर्फ कुल ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट (kWh) विद्युत् निर्यात गरेको छ। यसबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो।

    आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा वर्षमा निर्यात परिमाण ६२.८९ प्रतिशत बढ्दै नयाँ कीर्तिमान कायम भएको हो।

    नेपालले भारतीय ऊर्जा बजार इन्डियन इनर्जी एक्सचेन्ज (IEX-DAM), IEX-RTM, एनभीभीएन (NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रति युनिट ७ रुपैयाँ ५६ पैसाको दरले विद्युत् बिक्री गरेको प्राधिकरणले जनाएको छ।

    निर्यात उल्लेख्य रूपमा बढेका बेला बाह्य स्रोतबाट हुने विद्युत् आयात भने घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। तर समीक्षा वर्ष २०८२/८३ मा आयात ३१.५७ प्रतिशत घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।

    आयात परिमाण घटेसँगै आयात खर्च पनि घटेको छ। समीक्षा वर्षमा विद्युत् आयातमा १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो।

    यसरी समीक्षा वर्षमा विद्युत् निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ आयात खर्च कटाउँदा नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) हासिल गरेको छ।

    यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा निकै ठूलो छलाङ हो। आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारबाट नेपालले ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्रै खुद बचत गरेको थियो। समीक्षा वर्षमा भने यो रकम ३१३ प्रतिशतले वृद्धि भएको छ, अर्थात् चार गुणाभन्दा बढी।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend