काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन बनेको घटनामा पाकिस्तानी सेनाले खोज तथा उद्धार अभियान तीव्र बनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएपछि टोलीसँग सम्पर्क हुन सकेको छैन। टोलीको खोजीका लागि पाकिस्तान सेनाले उद्धारकर्मी र विशेष उपकरणसहित दुईवटा हेलिकोप्टर परिचालन गरेको जनाएको छ।
यद्यपि, निर्मल पुर्जाको ट्र्याकिङ उपकरणबाट अझै संकेत प्राप्त भइरहेकाले उनी जीवित रहेको सम्भावना कायम रहेको बताइएको छ।
आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला परेको जानकारी दिएको छ। तर ती शव कसका हुन् भन्ने पहिचान हुन बाँकी रहेको कम्पनीले जनाएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको टोलीमा निर्मल पुर्जासहित पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा एक अन्य विदेशी आरोही रहेका छन्। हिमपहिरोपछि सबै सदस्यसँग सम्पर्क विच्छेद भएको थियो।
उच्च हिमाली क्षेत्रमा मौसम र भौगोलिक चुनौतीबीच उद्धार अभियान जारी रहेको तथा सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

