२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकको नाफा २९.५२% घट्यो, निक्षेप–कर्जा विस्तार भने बलियो

कृषि विकास बैंकको नाफा २९.५२% घट्यो, निक्षेप–कर्जा विस्तार भने बलियो

images
बिहिवार, श्रावण २१ २०८३०७:४७
बिहिवार, श्रावण २१ २०८३०७:४७
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र लाभांश वितरण क्षमता घटेको देखिए पनि निक्षेप तथा कर्जा विस्तारमा उल्लेखनीय वृद्धि भएको छ।

    समीक्षा अवधिमा बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी पनि सामान्य घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको तुलनामा ३.४५ प्रतिशत कम हो।

    त्यस्तै, बैंकको सञ्चालन नाफा पनि घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिमा सञ्चालन नाफा ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो।

    यस अवधिमा कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको यस्तो व्यवस्था गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब परेको देखिन्छ।

    नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा घटेर ५७ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।

    यद्यपि, सञ्चित नाफा तथा नगद लाभांश भुक्तानीसम्बन्धी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा भने १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ। यसका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा (DPS Capacity) ६ रुपैयाँ ५४ पैसा रहेको छ।

    बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ। यसमध्ये १४ अर्ब ३० करोड रुपैयाँ साधारण शेयर पूँजी र ५ अर्ब ४३ करोड रुपैयाँ अग्राधिकार शेयर पूँजी रहेको छ। जगेडा कोष तथा सञ्चित नाफासहित बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

    व्यवसाय विस्तारतर्फ भने बैंकले सकारात्मक प्रदर्शन गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

    त्यसैगरी, बैंकले प्रवाह गरेको कर्जा १६.२४ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कर्जा प्रवाह २ खर्ब १२ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

    समग्रमा, कृषि विकास बैंकको वित्तीय विवरणले नाफा र लाभांश क्षमतामा गिरावट देखाए पनि निक्षेप तथा कर्जा विस्तारमार्फत बैंकले व्यवसाय विस्तारलाई निरन्तरता दिएको संकेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend