२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • ‘ग्रीन सेभिङ्स’मार्फत हरित भविष्यतर्फ बेस्ट फाइनान्स,...

‘ग्रीन सेभिङ्स’मार्फत हरित भविष्यतर्फ बेस्ट फाइनान्स, गोदावरीमा ६ सय बिरुवा रोपियो

‘ग्रीन सेभिङ्स’मार्फत हरित भविष्यतर्फ बेस्ट फाइनान्स, गोदावरीमा ६ सय बिरुवा रोपियो

मंगलवार, श्रावण २६ २०८३१०:१२
मंगलवार, श्रावण २६ २०८३१०:१२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अघि सारेको ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी, २०२४’ को कार्यान्वयन तथा हरित वित्त (Green Finance) प्रवर्द्धन गर्ने उद्देश्यले बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स’ निक्षेप योजना सञ्चालनमा ल्याएको छ।

    यस योजनाअन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। सोही अभियानअन्तर्गत सामुदायिक वन दिवस २०८३ को अवसर पारेर बेस्ट फाइनान्सले ललितपुरको गोदावरी नगरपालिका–५ मा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।

    ‘सामुदायिक वनको अबको बाटो : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने यस वर्षको नारालाई आत्मसात् गर्दै महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिको सहकार्य तथा जिल्ला वन कार्यालय, ललितपुरको सहयोगमा वृक्षरोपण गरिएको कम्पनीले जनाएको छ।

    कार्यक्रमअन्तर्गत महत गाउँ सल्लाघारी सामुदायिक वनको सेक्टर ए, बी र सी क्षेत्रमा ६ सय वटा बिरुवा रोपिएको छ। रोपिएका बिरुवाको नियमित गोडमेल, मलजल तथा संरक्षण गर्ने, कुनै बिरुवा मरेमा सोही स्थानमा अर्को बिरुवा रोप्ने र कम्तीमा पाँच वर्षसम्म संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी सामुदायिक वन उपभोक्ता समितिले लिएको छ।

    कम्पनीका अनुसार वृक्षरोपण अभियानले जैविक विविधता संरक्षण, कार्बन अवशोषण वृद्धि, जलाधार संरक्षण, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    वृक्षरोपण कार्यक्रममा बेस्ट फाइनान्स कम्पनीका अध्यक्ष प्रा. डा. रामजी गौतम, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत बिएन घर्ती, कम्पनीका कर्मचारी, महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, जिल्ला वन कार्यालय ललितपुरका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि र समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा १२० जनाभन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

    बेस्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स’ योजनामार्फत वित्तीय सेवा र वातावरण संरक्षणलाई एकै अभियानमा जोड्न खोजेको जनाएको छ। कम्पनीका अनुसार ‘एक बचत, एक बिरुवा, हरित भविष्य’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने उद्देश्यले यस्तो पहल गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend