नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले निष्क्रिय खाता सक्रिय गर्न र रोकिएको लाभांश लिन आग्रह
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका बैंक खाताहरू सक्रिय गर्न तथा विगतका वर्षमा घोषणा भएर भुक्तानी हुन बाँकी नगद लाभांश लिन सम्बन्धित खातावाला तथा शेयरधनीलाई आग्रह गरेको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार १० वर्षदेखि कुनै पनि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताका खातावाला वा त्यस्ता खाताका कानुनी हकवालाले बैंकमा सम्पर्क गरी खाता सक्रिय गर्नुपर्नेछ। बैंकले त्यस्ता खातावाला तथा कानुनी हकवालालाई आवश्यक प्रक्रिया पूरा गरी आफ्नो खाताको अवस्थाबारे जानकारी लिनसमेत अनुरोध गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पूर्व नेपाल इन्भेस्टमेन्ट बैंक तथा मेगा बैंक नेपालसँगै ती संस्थासँग गाभिएका अन्य वित्तीय संस्थाका खातासमेत समेटेर यस्तो सूचना जारी गरेको हो।
पाँच वर्षसम्मको रोकिएको लाभांश लिन आग्रह
बैंकले विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश पाँच वर्षसम्म पनि भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई समेत रकम लिन आग्रह गरेको छ।
बैंकका अनुसार त्यस्ता शेयरधनीले आफ्नो रोकिएको नगद लाभांश लिनका लागि शेयर रजिस्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा यथाशीघ्र सम्पर्क गर्नुपर्नेछ।
बैंकले लामो समयदेखि कुनै कारोबार नभएका खाताहरू तथा साधारण सभाबाट पारित लाभांशसमेत लिन नआएका शेयरधनीको विवरण सार्वजनिक गरेको जनाएको छ।
वेबसाइटबाट पनि विवरण हेर्न सकिने
बैंकले विगत १० वर्षदेखि कारोबार नभई निष्क्रिय अवस्थामा रहेका खाताहरू तथा पाँच वर्षसम्म पनि भुक्तानी लिन नआएका नगद लाभांशसम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत पनि हेर्न सकिने जनाएको छ।
सम्बन्धित खातावाला, शेयरधनी तथा कानुनी हकवालाले बैंकको वेबसाइट nimb.com.np मा उपलब्ध विवरण हेरी आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।
बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाता र भुक्तानी हुन बाँकी लाभांशको व्यवस्थापनका लागि सम्बन्धित व्यक्ति तथा हकवालालाई समयमै बैंक तथा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।

