काठमाडौं । नेपालमा निर्माण तथा आवाससम्बन्धी क्षेत्रको ठूलो प्रदर्शनीका रूपमा आयोजना हुँदै आएको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ को टाइटल स्पोन्सरमा नेक्स्टाइल्स जोडिएको छ। आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फेस्टका लागि आयोजक घर निर्माण फाउन्डेसन र नेक्स्टाइल्सबीच सम्झौता भएको हो।
पशुपति सेरामिक्सको उत्पादनका रूपमा रहेको नेक्स्टाइल्स निर्माण क्षेत्रमा आएको नयाँ ब्रान्ड हो। कम्पनीले आधुनिक डिजाइन, प्रिमियम फिनिसिङ र उच्च गुणस्तरमा आधारित टायल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। नेक्स्टाइल्स ब्रान्डअन्तर्गत १०० प्रतिशत भिट्रिफाइड टायलको सिरिज सार्वजनिक गर्ने तयारी गरिएको छ। आवासीय तथा व्यावसायिक भवनका लागि उपयुक्त विकल्पका रूपमा टायललाई बजारमा ल्याउने कम्पनीको दाबी छ।
निर्माण व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना हुँदै आएको फेस्टमा यसपटक विगतभन्दा फरक अनुभव दिने तयारी गरिएको आयोजकले जनाएको छ। निर्माण क्षेत्रमा विभिन्न ब्रान्डले आफ्ना उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने, ग्राहकसँग सम्बन्ध विस्तार गर्ने तथा उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्ने अवसर फेस्टले उपलब्ध गराउनेछ।
डिजिटल फेस्ट पनि आयोजना हुने
यस वर्षको फेस्टको अर्को आकर्षणका रूपमा ‘डिजिटल फेस्ट’ को अवधारणा अघि सारिएको छ। आयोजकका अनुसार काठमाडौं बाहिर तथा विदेशमा रहेका नेपाली समुदायलाई समेत समेट्ने उद्देश्यले डिजिटल माध्यमबाट फेस्टलाई थप विस्तार गरिनेछ। भृकुटीमण्डपमा घर निर्माण फेस्टसँगै डिजिटल फेस्टका लागि छुट्टै मल्टिपर्पस स्टुडियो निर्माण गरिनेछ।
उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवाबारे जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन्। यस्ता सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ।
डिजिटल फेस्टको मुख्य उद्देश्य प्रदर्शनीलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउनु रहेको आयोजकको भनाइ छ।
२०० भन्दा बढी स्टल, ४ अर्बभन्दा बढी कारोबारको लक्ष्य
आयोजकका अनुसार अघिल्लो संस्करणमा १५० भन्दा बढी स्टल राखिएकोमा यसपटक २०० भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ। प्रदर्शनीका लागि स्टल बुकिङमा व्यवसायीको उत्साह देखिएको र हालसम्म करिब ६० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ।
गत वर्षको दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले फेस्ट अवलोकन गरेका थिए। यसपटक प्रदर्शनीलाई थप विस्तार गरिएकाले अवलोकनकर्ताको संख्या उल्लेख्य रूपमा बढ्ने आयोजकको अपेक्षा छ। साथै, फेस्ट अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ।
घर निर्माणको सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रका अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले फेस्ट आयोजना गरिएको आयोजकले जनाएको छ।
घर निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आयोजना हुने फेस्टमा ट्राइनोक्स ग्लोबल ले समेत सहकार्य गरेको छ।

