काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य गिरावट आएको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि बढेको प्रोभिजनिङ तथा खुद ब्याज आम्दानीमा आएको कमीले बैंकको नाफामा दबाब परेको हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँको तुलनामा ३६.५९ प्रतिशत कम हो।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा १२.६९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा घटेर ८.०५ रुपैयाँमा सीमित भएको छ।
ब्याज आम्दानी घट्यो
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ। ब्याजदर अन्तरमा आएको परिवर्तनका कारण बैंकको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ अर्ब २० करोड २६ लाख रुपैयाँ थियो।
यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने सामान्य रूपमा बढेको छ। यस्तो आम्दानी १.४३ प्रतिशतले बढेर २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। यस्तो आम्दानी ४२.७२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ थियो।
प्रोभिजनिङ ४१ प्रतिशत बढ्यो
बैंकको नाफामा सबैभन्दा ठूलो दबाब कर्जा नोक्सानी व्यवस्थापनमा भएको वृद्धिले पारेको देखिन्छ। निष्क्रिय कर्जाको जोखिम व्यवस्थापनका लागि बैंकले गत आर्थिक वर्षमा ६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।
यो रकम अघिल्लो वर्षको ४ अर्ब ३७ करोड ५३ लाख रुपैयाँको तुलनामा ४१.५५ प्रतिशत बढी हो।
बैंकको निष्क्रिय कर्जा अनुपात पनि बढेको छ। २०८२ असारमा ६.३५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात २०८३ असारसम्म आइपुग्दा बढेर ८.६६ प्रतिशत पुगेको छ।
बैंकको निक्षेप संकलनमा भने सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको कुल निक्षेप ११.४९ प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
तर, कर्जा लगानीमा भने खासै विस्तार हुन सकेको छैन। अघिल्लो वर्ष ३ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ रहेको कर्जा लगानी गत आवमा सामान्य ०.५७ प्रतिशतले घटेर ३ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँमा सीमित भएको छ।
कर्जा विस्तार सुस्त हुँदा बैंकको कर्जा–निक्षेप अनुपात पनि घटेर ६८.१७ प्रतिशतमा आएको छ।
बैंकका सेयरधनीका लागि भने वित्तीय विवरण निराशाजनक देखिएको छ। अघिल्ला वर्षको सञ्चित नोक्सानी तथा चालु आर्थिक वर्षमा भएको नियामकीय समायोजनका कारण बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
यसका कारण आर्थिक वर्ष २०८२/८३ को नाफाबाट बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्था देखिएको छैन।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँमा यथावत् छ। जगेडा तथा अन्य कोष भने १५.३८ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
नाफामा गिरावट आए पनि जगेडा कोषमा भएको वृद्धिका कारण बैंकको प्रतिसेयर नेटवर्थ १९०.४० रुपैयाँबाट बढेर १९७.७१ रुपैयाँ पुगेको छ।
बैंकको आधार दर पनि घटेको छ। अघिल्लो वर्ष ५.८३ प्रतिशत रहेको आधार दर गत आवमा घटेर ४.५३ प्रतिशत कायम भएको छ। यता ब्याजदर अन्तर (स्प्रेड) भने ३.०१ प्रतिशतबाट बढेर ३.१५ प्रतिशत पुगेको छ।

