काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हाल कायम चुक्ता पूँजी करिब ३ अर्ब ७३ करोड रुपैयाँ छ। यसका आधारमा प्रस्तावित ४ प्रतिशत बोनस शेयर करिब १४ करोड ९३ लाख रुपैयाँ बराबरको हुनेछ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांश करिब २४ करोड ३६ लाख रुपैयाँ बराबर हुनेछ।
यसरी बैंकले बोनस शेयर र नगद लाभांश गरी शेयरधनीलाई कुल करिब ३९ करोड ३० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यद्यपि सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश शेयरधनीले तत्काल पाउने भने होइनन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा पेस हुनेछ। साधारणसभाले अनुमोदन गरेपछि मात्रै लाभांश वितरणको बाटो खुल्नेछ। उपलब्ध विवरणअनुसार बैंकको शेयरको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ ९० पैसा रहेको छ।

