काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सांसदहरूको बैठक बोलाएका छन्।
लामिछानेले आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा पार्टीका सांसद तथा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको बताइएको छ।
रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन तथा संसदमा सांसदहरूको भूमिकाप्रति सभापति लामिछाने असन्तुष्ट छन्। सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
पछिल्लो समय रास्वपाका केही सांसदहरू संसदमा प्रस्तुत हुने शैली तथा उनीहरूका गतिविधिलाई लिएर विवादमा पर्दै आएका छन्। बैठकमा सांसदहरूको संसदीय भूमिका र मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा तथा आवश्यक निर्देशन दिने तयारी रहेको बताइएको छ।

