काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बुधबार आयोजित समारोहबीच उद्घाटन गरेका हुन्।
लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारस्थित आफ्नै स्वामित्वको भवनबाट सञ्चालन हुनेछ। बैंकले नयाँ भवनबाट थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारेको थियो।
आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको संस्थागत विकास यात्रामा नयाँ अध्याय थपिएको प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए।
उद्घाटन समारोहमा बोल्दै उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुग्दा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार र कर्मचारीको निरन्तर विश्वास तथा योगदान महत्वपूर्ण रहेको बताए। उनले संस्थागत सुशासनलाई बैंकको सफल व्यावसायिक यात्राको प्रमुख आधारका रूपमा उल्लेख गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलसँगै धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापन, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो।
नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटनसँगै परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको बैंकले जनाएको छ।
समारोहको समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त बनाउने बताए।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय सेवामार्फत आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।

