काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका हुन्।
थापाले एमाले र नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपाले उक्त समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर पार्टीको आग्रह अस्वीकार गर्दै समर्थन कायमै राखेपछि उनलाई कारबाही गरिएको लिङदेनले बताए।
‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरिएको छ,’ लिङदेनले भने।
राप्रपाले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरेको भन्दै यसअघि पनि थापालाई समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उनले पार्टीको निर्देशन पालना नगरेपछि कारबाहीको निर्णय गरिएको हो।
अध्यक्ष लिङदेनका अनुसार अब पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य नेता तथा सांसदलाई समेत कारबाही गरिनेछ।
उनले संसदीय दलका नेतामाथि नै कारबाही गरिसकेकाले पार्टीको निर्णय उल्लंघन गर्ने अन्य व्यक्तिमाथि पनि आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

