काठमाडौं । नेपालमा जब पोर्टल तथा एचआर सेवा प्रदान गर्दै आएको कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस) लाई लिंक्डइनसँग एकीकृत गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले रोजगारदाता र जबसिकरबीचको पहुँच विस्तार गर्दै नेपालमा रोजगारी दिने तथा लिने प्रक्रिया थप छिटो, सहज र व्यवस्थित बनाउनेछ ।
कुमारी जबमा हाल १० लाखभन्दा बढी जबसिकर दर्ता छन् भने नेपालमा लिंक्डइन प्रयोग गर्नेको संख्या करिब २७ लाख रहेको कम्पनीले जनाएको छ । यी दुवै प्लेटफर्मलाई जोड्दा रोजगारदाताले सम्भावित रूपमा ३७ लाखभन्दा बढी जबसिकरसम्म पहुँच बनाउन सक्ने कम्पनीको दाबी छ ।
यस एकीकरणपछि रोजगारदाताले आवश्यक सीप, अनुभव र योग्यता भएका उम्मेदवार खोज्न तथा उनीहरूसँग सम्पर्क गर्न थप सहज हुने बताइएको छ ।
जागिरको सूचना राखेर आवेदन कुर्नुपर्ने बाध्यता हट्ने
कुमारी जबको एटीएसमार्फत रोजगारदाताले जबसिकर खोज्ने, आवेदन व्यवस्थापन गर्ने, एआईको सहयोगमा प्रारम्भिक स्क्रिनिङ गर्ने, उपयुक्त उम्मेदवारको सूची तयार गर्ने, अन्तर्वार्ता व्यवस्थापन गर्ने तथा अन्तिम छनोटसम्मका काम एउटै प्रणालीबाट गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यसले म्यानुअल काम घटाउनुका साथै एचआर टिमलाई उम्मेदवार छनोटमा छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्नेछ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले रोजगारी क्षेत्रमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको बताउँदै लिंक्डइनसँगको सहकार्यलाई नेपालको भर्ती प्रक्रियालाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार कुमारी जब एटीएसलाई केवल जागिरको सूचना प्रकाशित गर्ने प्लेटफर्ममा सीमित नराखी रोजगारदाताले आवश्यक जनशक्ति आफैं खोज्न सक्ने प्रणालीका रूपमा विकास गर्ने लक्ष्य छ ।
एआईबाट रिजुमे खोजी र स्क्रिनिङ
कुमारी जबले एआईमा आधारित रिजुमे तथा सीभी खोजी सुविधा पनि सञ्चालनमा ल्याएको छ । यसमार्फत रोजगारदाताले की–वर्ड, सीप, पद, अनुभव, शैक्षिक योग्यता तथा ठेगानाका आधारमा आफ्नो डाटाबेसबाट उपयुक्त उम्मेदवार खोज्न सक्नेछन् ।
त्यसैगरी, रोजगारदाताले आफूलाई आवश्यक जनशक्तिको विवरण सामान्य भाषामै लेखेर खोजी गर्न सक्ने र एआईले उक्त आवश्यकतासँग मेल खाने उम्मेदवार पहिचान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
यसले पहिलेको जस्तो जागिरको सूचना प्रकाशित गरेर आवेदन आउने प्रतीक्षा गर्नुपर्ने प्रक्रियालाई परिवर्तन गर्दै रोजगारदातालाई आवश्यक उम्मेदवार आफैं खोजेर भर्ती प्रक्रिया अघि बढाउने सुविधा दिनेछ ।
एआई–सञ्चालित एटीएसमा स्क्रिनिङदेखि भर्तीसमम्म
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनाई जस्ता एआई प्रविधि समावेश गरेको जनाएको छ । प्रणालीले उम्मेदवारको प्रोफाइललाई सम्बन्धित जागिरको विवरणसँग तुलना गरी प्रारम्भिक छनोट गर्न सहयोग गर्छ ।
उम्मेदवारको सीप, योग्यता, अनुभव तथा सम्बन्धित पदका लागि उसको उपयुक्तताबारे संक्षिप्त विवरणसमेत एआईले तयार गर्न सक्ने कम्पनीको भनाइ छ । यसले प्रत्येक सीभी म्यानुअल रूपमा अध्ययन गर्नुपर्ने समय घटाउने अपेक्षा गरिएको छ ।
प्लेटफर्ममा रहेको ट्यालेन्ट पुल म्यानेजमेन्ट सुविधामार्फत रोजगारदाताले उम्मेदवारका प्रोफाइल सुरक्षित राख्न, वर्गीकरण गर्न तथा ट्याग गरेर भविष्यका रोजगारीका लागि पुनः प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै, एटीएस पाइपलाइन म्यानेजमेन्ट सुविधाले उम्मेदवार खोजी वा आवेदन प्राप्त भएदेखि स्क्रिनिङ, सर्टलिस्टिङ, अन्तर्वार्ता, छनोट र अन्तिम नियुक्तिसम्मको सम्पूर्ण प्रक्रिया एउटै स्थानबाट ट्र्याक तथा व्यवस्थापन गर्न सहयोग गर्नेछ ।
रोजगारी क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने लक्ष्य
१० लाखभन्दा बढी जबसिकरको डाटाबेस, एआईमा आधारित रिजुमे खोजी, एआई–सञ्चालित एटीएस, ट्यालेन्ट पुल म्यानेजमेन्ट तथा लिंक्डइनसँगको एकीकरणमार्फत रोजगारदातालाई उम्मेदवार खोजीदेखि नियुक्तिसम्मको प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सहयोग गर्ने कुमारी जबको लक्ष्य छ ।
कम्पनीले एआई, व्यावसायिक नेटवर्क र डिजिटल उपकरणको प्रयोगमार्फत नेपालको रोजगारी क्षेत्रलाई थप सहज, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य रहेको जनाएको छ ।
सन् २०१४ मा स्थापना भएको कुमारी जबले जबसिकरलाई रोजगारीका अवसरसँग जोड्नुका साथै विभिन्न संस्थालाई भर्ती, जागिर सूचना प्रकाशन, एचआर आउटसोर्सिङ, परामर्श तथा तालिमसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

