काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ प्रदान गरेको हो ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवनसमेत प्रभावित भइरहेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
बैंकका अनुसार विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा रहँदै खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको हो ।
एनआईएमबीले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, विपद्मा परी हालसम्म सम्पर्कमा आउन नसकेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैंकले गरेको छ ।
बैंकले प्राकृतिक विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

