काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्षले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण ठूलो संख्यामा परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ। बैंकका अनुसार सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापना कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

