काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सीबीफिन०को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्।
सीबीफिनका निवर्तमान अध्यक्ष प्रचण्डमान श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि परिसंघको अध्यक्ष पद रिक्त भएको थियो। त्यसपछि भदौ २५ गते बसेको सीबीफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो।
उपाध्याय हाल महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। उनी नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय अनुभवी व्यवसायीका रूपमा परिचित छन्।
सीबीफिनका अनुसार उपाध्यायले संस्थाको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा योगदान दिँदै आएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वदायी भूमिकामा काम गरेको उनको अनुभवले सीबीफिनको आगामी यात्रालाई थप परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वर्तमान आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधान गर्न उपाध्यायको अनुभव, समन्वयकारी क्षमता र दूरदर्शी नेतृत्व उपयोगी हुने सीबीफिनको विश्वास छ।
उनको नेतृत्वमा परिसंघले आफ्ना उद्देश्य, नीतिगत प्राथमिकता र भूमिकालाई अझ प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व र विश्वसनीयता अभिवृद्धि तथा दिगो विकासमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।

