काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार र रङमा नयाँ विशेषतासहितको नोट बजारमा ल्याएको हो।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ‘ट २४ ०००००१’ देखि ‘ण ७० ९९९९९९’ सम्म रहेको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख छ भने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।
नोटको अगाडिको बायाँ भागमा सगरमाथाको चित्र राखिएको छ। दायाँतर्फ लालीगुराँसको पानीछाप र त्यसको मुनि ‘५०’ अंकित पानीछाप रहेको राष्ट्र बैंकले जनाएको छ।
सुरक्षाका लागि नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो प्रयोग गरिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ अक्षर रहेको छ।
नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथि ‘NEPAL RASTRA BANK’ तथा तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ का नोट चलनचल्तीमा ल्याउने सूचना जारी गरेको थियो। त्यसबेला ‘ज ८९ ०००००१’ देखि ‘ट ३३ ९९९९९९’ सम्म संकेत नम्बर तय गरिएको भए पनि ‘ज ८९ ०००००१’ देखि ‘ट २३ ९०००००’ सम्मका नोट मात्रै चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।


