२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको...

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’सार्वजनिक

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’सार्वजनिक

शुक्रवार, आश्विन २ २०८३०४:५७
शुक्रवार, आश्विन २ २०८३०४:५७
  • images

    काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । 
     
    राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरे । 

    कार्यक्रममा अध्यक्ष दाहालले चीनको ऐतिहासिक पक्षका विविध आयामका बारेमा पुस्तकबाट जानकारी हुने बताए । चिनियाँ भिक्षु ह्वेनसाङले जोखिमपूर्ण यात्रा गरी चीन फर्केर पुस्तक लेखेको उनले सुनाए । 
      
    मञ्जुश्रीदेखि ह्वेनसाङसम्म र भृकुटी, अरनिकोका कारण दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक रुपमा जोडेको अध्यक्ष दाहालले बताए । यात्रामा देखेका र सिकेका कुरा लेखकले पुस्तकमा उतारेको उनले जानकारी दिए । 

    कार्यक्रममा उनले नेपाल र चीनको सम्बन्ध एकतर्फी मात्रै नभएको उल्लेख गरे । साथै उनले दुई देशको सम्बन्ध ज्ञान, सिप, संस्कृति, व्यापारीक हिसाबमा समेत समान रुपमा अघी बढेको दाबी गरे । उनले नेपाल एक चीन नितिमा कटिबद्द रहेको र हाम्रो ठूलो विकास साझेदार भएको दाबी गरे । 
     
    पूर्वशिक्षामन्त्री रघुजी पन्तले पुस्तकको १२३ पृष्ठमा लेखिएको वाक्यांशले बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हो भन्ने पुष्टि गरेको बताए । ‘त्यहाँ सम्राट अशोकले बनाएको ढुङ्गाको खम्बा छ । खम्बाको टुप्पोमा पहिले घोडाको मूर्ति थियो, पछि चट्याङ लागेर भाँचेको भनिन्छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ । 
      
    “संसदीय समितिबाट लुम्बिनीको भ्रमणमा जाँदा चिनियाँ भाषामा लेखिएको यही पुस्तकमा उल्लेख गरिएको माथि उल्लेखित वाक्यांश प्रमाणका आधारमा बुद्धको जन्म लुम्बिनीमा भएको पुष्टि भयो, बुद्धसँगै हिन्दू देवालयका प्रसङ्ग पनि लेखक ह्वेन साङले लेखेका छन्, नेपाली भाषामा यो कृति आएर योगदान भएको छ”, उनले भने । 


    बुद्धको सम्यक् चिन्तनका आधारमा चीन अघि बढेको उल्लेख गर्दै पूर्वमन्त्री पन्तले नेपाल–चीन मित्रतामा पनि पुस्तकको अनुवादले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । अटल साहस र आत्मविश्वासका साथ करिब एक हजार ४०० वर्षअघि प्राचीन चीनको राजधानी छाङ्आनबाट बौद्ध भिक्षु ह्वेनसाङ मध्यएसिया हुँदै अध्ययन भ्रमण गर्दै सन् ६३६ तिर नालन्दा पुगेको पुस्तकमा उल्लेख गरिएको छ । त्यही क्रममा उनले नेपालस्थित बुद्धको जन्मस्थल लुम्बिनीका साथै अन्य प्राचीन राज्य तथा धार्मिकस्थलको पहिचान र अध्ययन गरेका थिए ।
      
    चीन फर्केपछि उनले तयार पारेको आफ्ना विवरण तथा अभिलेखहरुको कृतिका रुपमा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक लेखिएको हो ।

     चिनियाँ भाषामा लेखिएको करिब एक हजार ४०० वर्षपछि यो पुस्तक नेपाली भाषामा अनुवाद गरिएको हो । आवृत्ति छापाखाना प्रालिले मुद्रण गरेको पुस्तकको मूल्य एक हजार तोकिएको छ । 

    गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको लेखक ह्वेनसाङ हुन् । उनले परम्परागत चिनियाँ भाषामा पुस्तक लेखेका थिए । जसको आधुनिक चिनियाँ अनुवाद फु छियाङले गरेका छन् भने नेपाली अनुवाद दीक्षा दवाडीले गरेकी छिन् । नेपाली अनुवाद गरिएको पुस्तकको सम्पादन गणेशकुमार जिसीले गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend