काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रअन्तर्गत बिहीबार महासभालाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजेका लागि तय गरिएको छ। नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ।
प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। महासभाको उच्चस्तरीय सत्रका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
प्रधानमन्त्रीको सम्बोधनमा नेपालमा पछिल्लो समय देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिको विषय प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। विशेषगरी भोटेकोसी क्षेत्रमा आएको बाढी, हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु जोखिम तथा त्यसबाट प्रभावित समुदायको पुनःस्थापनाका विषय नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने तयारी गरेको हो।
नेपालले आफू कम कार्बन उत्सर्जन गर्ने भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले जलवायु न्यायको विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउनेछ। जलवायु परिवर्तनका कारण भएको हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोषलाई प्रभावकारी बनाउँदै प्रभावित मुलुकलाई थप ऋणको भार नपर्ने गरी प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि जोड दिइने तयारी छ।
गुटेरेसले महासभामै सम्झिए नेपाल
प्रधानमन्त्री शाहले सम्बोधन गर्नुअघि नै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले महासभामा नेपालको जलवायु संकटलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
मंगलबार महासभाको उच्चस्तरीय बहस उद्घाटन गर्दै गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे दिएको चेतावनी स्मरण गरेका थिए। उनले पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो, कडा र व्यापक रूपमा देखिन थालेको बताएका छन्।
गुटेरेसले जलवायु संकटलाई एक पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको अवस्थासँग तुलना गर्दै जलवायु परिवर्तनको असर कम जिम्मेवार र कमजोर मुलुकले पहिले तथा गम्भीर रूपमा भोगिरहेको बताएका छन्। उनले विकसित मुलुकलाई जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउन र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आह्वान गरेका छन्।
महासभाको सम्बोधनमा गुटेरेसले जलवायु संकटसँगै विश्वमा बढिरहेका द्वन्द्व, असमानता, अन्तर्राष्ट्रिय कानुनको कमजोर कार्यान्वयन र कृत्रिम बुद्धिमत्ता (एआई) का जोखिमबारे पनि चर्चा गरेका थिए। उनले जीवन–मृत्युसम्बन्धी निर्णय मेसिनलाई सुम्पिन नहुने र घातक स्वचालित हतियारमाथि नियन्त्रण आवश्यक रहेको बताएका छन्।
परराष्ट्रमन्त्री खनाल पनि उच्चस्तरीय भेटघाटमा
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाली प्रतिनिधिमण्डलका उच्च अधिकारीहरू महासभाका कार्यक्रममा सहभागी छन्। परराष्ट्रमन्त्री खनाल प्रधानमन्त्रीभन्दा दुई दिनअघि न्युयोर्क पुगेका थिए र विभिन्न उच्चस्तरीय तथा द्विपक्षीय भेटवार्तामा सहभागी भइरहेका छन्।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत अधिकारी सहभागी छन्। महासभाका कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

