२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • साम्बाका आमाबुबा भन्छन्– हाम्रो आँखा छलेर...

साम्बाका आमाबुबा भन्छन्– हाम्रो आँखा छलेर फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौँ

साम्बाका आमाबुबा भन्छन्– हाम्रो आँखा छलेर फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौँ

बुधवार, कार्तिक १४ २०८१०८:०४
बुधवार, कार्तिक १४ २०८१०८:०४
  • images

    लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी साबित्रा भण्डारी ‘साम्बा’ यतिवेला काठमाडौंमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन्। उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन्। गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले   ‘साम्बा’ अरू नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन्।

    हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी भण्डारी सोमबार नेपाल र भारतबिचको सेमिफाइनलपछि झन् चर्चामा छिन्। नेपाललाई विजयी गराउँदै फाइनलमा पुर्याएसँगै भण्डारीको चर्चा चुलिएको छ। खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मर्स्याङ्दी गाउँपालिका–९, पामचोक गाउँमा हुर्किएकी हुन्। थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रूपमा ०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा जन्मिएकी हुन्।

    साम्बाका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग छन्। आमा मुनाले भनिन्, ‘हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो । तर फुटबल खेलेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।’ भण्डारी नौ÷दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्थिन्। ‘जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन ।’

    भण्डारीका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उनलाई दिनुहुँ गाली गर्थे। उनलाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने ।

    ‘काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने’ भण्डारीकी आमा मुनाले भनिन्, ‘काली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो ।’ 

    आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउँछिन्। ‘सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हुँदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो । १४÷१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालि, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्’, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाइन्।

    सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जान्थिन्। अरु बेला पनि बलसँगै लैजाने गर्थिन्। गाउँमा साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उनका बुबा थमन बताउँछन्। ‘प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु । अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी  हुन्’, उनले भने।

    सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो । ‘जति बेला पनि बल खेल्ने । त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै  गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्’, बुबा थमनले भने।

    पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो। उनले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी छन्। बुबा थमनले भने, ‘सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन्। छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो।’

    सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए। मनाङमै हुँदा सावित्राको जन्म भएको हो। उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन्। पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किइन्। बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बढीजसो बसे। उनले मनाङमा २०४४ सालमा जागिर खाए। २०४६ सालमा स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किए।

    ‘त्यो बेलामा मेरो एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो । तर अहिले हामीलाई छोरी सावित्राले हेरेको छ । अब हामीलाई पहिलाको जस्तो दुःख छैन’, बुबा थमनले खुसी हुँदै भने।

    सावित्राले  गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढिन्। गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन्। ‘उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो’, थमनले भने, ‘जतिबेला पनि फुटबल खेले पनि सावित्राको पढाइ पनि राम्रै  थियो।’

    सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन्। महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो। 

    थमनले भने, छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो । काठमाडौँ जान्छु भनेर खबर गरिन् । म मनाङमै थिए । दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाएँ।’

    काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खाए। तर बुबाआमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो। ‘दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्’, थमनले सुनाए।

    सावित्रा सशस्त्र प्रहरी बलमा सहजै भर्ती भएकोमा उनका बुबाआमा खुसी भए। ‘मैले भर्ती भएपछि किन यही फुटबल क्षेत्र रोजेको भनेर सोधेँ। तर सावित्राले फुटबल खेल्न पाउने र आफूले चाहेको क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै जवाफ दिइन्’, थमनले भने। सावित्राको खेल बुबा आमाले मोबाइलबाट हेर्ने गर्छन्। साँझ सधैँ मोबाइलबाटै खेलकुद गतिविधि हेर्ने गरेको बुबा थमनले बताए। सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबाआमाले घरमा सुरक्षित राखेका छन्।

    सावित्राका छिमेकी मधुराम भण्डारी उनले मोजाको बल बनाएर खेल्ने गरेको सम्झिन्छन्। उनले भने, ‘सावित्राको प्रगति देखेर खुसी लागेको छ, देशको नाम राखेको छ । अझै राज्यले खेलकुद क्षेत्रको विकास गर्नुपर्छ । हामी पहिला सँगै बल खेल्थ्यौँ, हामीले उसलाई बल टिप्न लगाउँथ्यौँ, उसको चन्चले स्वभाव थियो, केही गर्लाजस्तो लाग्थ्यो, निडर स्वभाव थियो ।’ 

    गाउँमा केटाहरु खेलिरहँदा पनि सावित्रा एक्लै मिसिएर बल खेल्न सहभागी हुने गर्थिन्। सावित्राको भाइ आषिस भण्डारीले भने, ‘दिदी बल समाएर हिँडेपछि हामीहरु पनि पछिपछि लागेर खेल्ने गर्दथ्र्यौं । कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्न लगाउनुहुथ्यो।’ सावित्राका आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ। सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपको रङ्गाशालासम्मको यात्रा तय गरेकामा  गाउँका सबै खुसी छन्।
    रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend