२०८३, आश्विन १९ गते

images

१२ वटा सञ्चारमाध्यममाथि कारबाही, चारवटा कालोसूचीमा

१२ वटा सञ्चारमाध्यममाथि कारबाही, चारवटा कालोसूचीमा

आइतवार, कार्तिक २५ २०८१०९:५७
आइतवार, कार्तिक २५ २०८१०९:५७
  • images

    काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको छ।
    काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो। दसैँअघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो।

    आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ। काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ।

    कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन्। काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ।


    त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ। त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभि र विजीटिभी (युट्युब च्यानल) छन्।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ।

    प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको जनाएको छ।

    बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend